Overblog
Edit post Follow this blog Administration + Create my blog
Novemberfrost.over-blog.com

बसन्तपुर डायरी

November Frost

"डल्ली भएर त हजुर को मनमा सजिलै अटाएको छु त" मेरो काँधमा टाउको राख्दै चेपारे बोलीमा बोल्छे। 

"तिमी जस्तो डल्ली त मेरो मनमा अझै दुई जना अटाउँछ" म उसलाई जिस्काउछु, 

"त्यै दुइटी सँग भेट्न जानु नि त, किन म सँग भेट्न पर्यो ? " उनी रिसाउँछिन् । उसलाई रिस उठाउनु र फकाउनु मेरो आजभोलिको दैनिकी हो। 

 

वसन्तपुर भीड छ, पर्यटकहरु र मायालुहरुको । माजु देवल मन्दिर परिसरको प्रतेक खुड्किलोमा जोडी छन् । पर्यटकहरु तस्बिर कैद गर्न व्यस्त छन् मायालुहरु माया गर्न। उनी आफ्नो मोबाइलको क्यामेरा खोलेर मेरो हातमा थमाउँछे । म उसको फोटोहरु खिच्दिन्छु । 

"हजुरको र मेरो फोटो नि खिच्ने", उनी मेरो अगाडि मोबाइल राखेर फोटो खिच्छे। 

"अलि तल बसिस्यो न लामो मान्छे, फोटो नै राम्रो आएन !", म उसको कुम कुम हुने गरी न्युरिन्छु। उनी फोटो खिच्छिन । 

"फोटोनै राम्रो आएन", उनी एक्लै बर्वराउँछिन । 

तर किन किन मलाई उसको हरेक फोटो मनपर्छ। फोटो मनपर्न सायद मान्छे मन पर्न पर्छ। 

 

"च्या खाने दाई ?", एक हातमा थर्मस र अर्को हातमा प्लास्टिक कप बोकेर एउटा भाइ नजिक आउँछ। मलाई चिया मन पर्दैन तर चिया खाने उनि मनपर्छ। म उसको लागि एउटा चिया लिन्छु। प्लास्टिक कपका विटमा लिपस्टिकले नाम लेख्दै उनि चिया सुरुप्प पर्छिन्।

एकैछिन अघिको अन्जान कप, एकैचोटीमा म भन्दा भाग्यमानी भएकोमा, मलाई कप सँग इर्श्या लाग्छ । 

"चिया खाइस्यो न हजुर नि" हातको चिया मेरो मुखै सामु लेराएर उनीले अग्रह गर्छिन । उसले लिपिस्टिकले बनाएको डामकै डोव बाट म चिया सुरुप्प पार्छु। चिया मिठो रैछ। चिया मिठो हुन समय मिठो हुन पर्दो रैछ। 

 

भीड छिचोल्दै हामी अशन आइपुग्छौ। मलाई यहाँको गल्ली र नेपाली समाज उस्तै लाग्छ, सङ्कुचित। तर कहिलेकाँही साँगुरो हुनु आफैमा राम्रो हुनु हो जस्तो लाग्छ। सेती नदी संगुरिएरौं सेती बनेर बसेकी छे। बीच सडकमै एक जोडी पर्यटक चुम्बन गर्छन् । डल्ली जोडले मेरो हात समाउँछे र म तिर हेर्छे। म लगाइरहेको माक्स खोल्छु र उ पटी फर्किन्छु।  

"उता गैस्यो पागल", उ ओठ टोक्दै मेरो छातीमा मुड्कीले कुटे जस्तो गर्छिन। लाजको बादल उसको अनुहारमा सलबालाउँछन् । 

 

घाम लागिरहेको मौसम, एकाएक पानी पर्छ । डल्ली ब्याग बाट छाता झिक्छे। "घाम पानी घाम पानी स्यालको बिहे, कुकुर जन्त बिरालो बाउन", डल्ली गुन्नगुनाउछे। 

 

पक्कै आज स्यालले बिहे गरेको हुनु पर्छ। मान्छेले मात्र बैशाखमा विहे गर्न पर्छ भनेर कतै लेखको छ र ? स्यालको पनि आफ्नै पात्रो होला, उनीहरूको पनि आफ्नै लगन होला। स्यालहरुको पनि बिहे हुनु पर्छ, स्यालहरुले नि आफ्नो वंश विस्तार गर्नु पर्छ भन्ने मेरो ठम्याइ हो। नत्र हाम्रो आउने पिडीले घामपानी पनि देख्न पाउँदैनन्। 

 

स्यालको विहे कस्तो हुन्छ होला ? डल्ली र म कुरा गर्छौं। स्यालहरुको बिहे अघि हल्दी र मेहेन्दी हुन्छ कि हुन्न होला ? स्यालहरुको प्री वोइडिन शुट हुन्छ कि हुन्न होला ? स्यालको बिहेको जग्या कस्तो हुन्छ होला ? स्यालको सालीहरुले जुत्ता लुकाउँछन्  की लुकाउन्न होला ? स्यालनीहरुले बिहेको भोलि पल्ट "वेस्ट हब्बी इन दी वोर्ल्ड" भनेर जोडी फाेटो कता हल्छन् होला ?  स्यालहरू हनिमुन मनाउन पोखराको जंगल जान्छन् कि चितवन राष्ट्रिय निकुञ्ज जान्छन् होला ? यस्ता उरन्ठेउला र कल्पनि गफ गर्न डल्लीमा भन्दा एक कदम अगाडि छे। डल्ली मनपर्नुको थुप्रै मध्येको एउटा कारण यो पनि हो जस्तो लाग्छ। 

 

पानी रोकियो, घाम लाग्यो। स्यालको बिहे मान्छेको जस्तो दिन भारी नहुँदो रैछ। एक्छिनको पानीले वाटो हिलो भयो । हिलो वाटो मनपराउने सायद कमै होलान्। मान्छे स्वार्थको भण्डार हो। पानी परेको मन पराउँछन्, तर हिलाम्य वाटो मन पराउँदैनन्। झरि मन पराउँछन् तर त्यै झरीले निम्त्याएको बाडी मन पराउँदैनन् । सबै कुराले गुण र अवगुण संगै लिएर हिँडेको हुन्छ, यी दुवैलाई आत्मसाथ गर्न सक्नु नै आफै भित्रको एउटा ठूलो उपलब्धी हो जस्तो मलाई लाग्छ। 

 

टुँडिखेल नजिकै धरहरा पानीमा निथ्रुक्क भिजेर एक्लै उबिरहेछ। मलाई अघिको पानीले भिजाएन किनकी डल्ली सँग छाता थियाे। धरहरा भिज्यो, किनकी धरहरा सँग छाता छैन, छाता ओडाइदिने डल्ली छैन। डल्ली सँगको मेरो पहिलो भेट यतै धरहरा आसपास भएको थियोत्यै दिन देखि उ मेरो आँखाको आकर्षण बनेकी थिइँ।

आकर्षण प्रेम हैन तर प्रेमको पहिलो खुड्किलो बन्न सक्छ बेलाबखत । आकर्षण समयको कसौडिमा छड्किन्छ र भावनामा बन्छ। कालान्तरमा गएर त्यी भावनाहरू प्रेममा परिवर्त्तन हुन्छ । प्रेम जो कसै सँग जाती बेला नि बस्न सक्छ, जसरी मेरो डल्ली सँग बसेको छ।

To be informed of the latest articles, subscribe:
Comments